0977-025-525555-5389
MohanC. Regmi , Associate Professor, Department of Obstetric and Gynecology, BPKIHS, Dharan,Nepal
mohanchallo@yahoo.com , fistulafreenepal@yahoo.com
fistulafreenepal@yahoo.com
धरान, वैशाख ७ -
महिलाको योनीबाट निरन्तर पिसाब बगिरहने फिस्टुला रोगको उत्कृष्ट उपचार हुने विश्वका सय अस्पतालको सूचीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि परेको छ ।
प्रतिष्ठानको स्त्री तथा प्रसूति रोग विभागलाई संयुक्त राष्ट्रिय जनसंख्या कोष र डाइरेक्ट रिलिफ इन्टरनेसनलले १० वर्षदेखि गरेको स्वास्थ्य उपचारको मूल्यांकन आधारमा उक्त सूचीमा पारेको हो । फिस्टुला रोगको उपचारमा संलग्न प्रतिष्ठानका स्त्री रोग विभागका एसोसिएट प्रोफेसर डा. मोहनचन्द्र रेग्मीले भने, 'सूचीमा भारतका कुनै पनि अस्पताल परेको छैन ।' प्रतिष्ठानले अन्तर्राष्ट्रिय संस्था गाइनोकोलोजिक साइन्स प|mन्टियर
-जीएसएफ), संयुक्त राष्ट्रिय जनसंख्या कोष -यूएनएफपीए) र जेनेभा फाउन्डेसनसँग सहकार्य गरेर फिस्टुलाको उपचार गर्दै आएको छ ।
एक वर्षको अवधिमा नेपाल र भारतका ५० जनाको निःशुल्क सफल शल्यक्रिया गरिसकेको डा. रेग्मीले बताए । जटिल प्रसव, असुरक्षित रूपमा बच्चा जन्माउने चलनका कारण महिलाहरूमा फिस्टुला हुने गरेको डा. रेग्मीले बताए । उनका अनुसार फिस्टुलाको उपचारका लागि करिब ७० देखि १ लाख रुपैयाँसम्म खर्च लाग्छ । उनले फिस्टुुला रोगलाई सरकारले राष्ट्रिय समस्याका रूपमा पहिचान गरी यसको उपचारलाई प्राथमिकता दिनुपर्ने बताए ।
प्रतिष्ठानका स्त्री रोग विशेषज्ञसमेत रहेका विभागीय प्रमुख प्रा.डा. ध्रुवकुमार उप्रेतीले भने, 'सीमित स्रोत साधनको भरमा पनि प्रतिष्ठानमा स्त्री रोगको पहिचान गरेर उपचार गरिरहेको अवस्थामा फिस्टुलाको उपचार गर्ने अन्तर्राष्ट्रिय मान्यताको विश्वव्यापी सूचीमा पर्नु ठट्टा होइन ।' नेपालमा फिस्टुला रोगीहरूको पहिचानका लागि कुनै पनि ठोस कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा केही दातृ निकायको सहयोगमा प्रतिष्ठानको स्त्री रोग विभागको पहलमा उक्त रोगको उपचारलाई निरन्तरता दिइरहेको उनले बताए ।
फिस्टुलाको कारण गाउँघरमा अझै पनि सयौं महिलाहरू परिवार र समाजबाट तिरस्कृत भएर बस्नुपरेको उनले बताए ।
प्रकाशित मिति: २०६९ वैशाख ८ ०९:१२
नेपालका गाउँ-गाउँमा असुरक्षित प्रसवका कारण हुने अब्स्ट्रेटिक फिस्टुलाबाट पीडित हजारौं महिला पिसाबको आहालमा डुबेर बसेका छन्।
लगालग तीन छोरी जन्मेपछि पाँचथर भारपा-६ की देवीमाया रिजालमाथि घरपरिवार-गाउँछिमेकबाट छोरा नपाए वंश कसले धान्छ, जुठो-किरिया कसले गर्छ भन्ने दबाब बढ्न थाल्यो। र, परिवारको खुसीका लागि २८ वर्षको उमेरमै चौथो सन्तान जन्माउन तयार देवी त्यही कारणले जीवनभर नबिर्सिने पीडा खप्न बाध्य भइन्।
दुई दिन व्यथा लाग्दा पनि बच्चा जन्मिन नसकेपछि फिदिम अस्पताल लगिएकी देवीको बच्चा त खेर गयो नै, आमाको निरन्तर रगत र पिसाब बग्न थाल्यो। उनको माया मारिसकेका श्रीमान् डम्बर रिजाल र आफन्तले रगतले लत्पतिएको अवस्थामै एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याई उपचार गरेपछि रगत त रोकियो तर पिसाब रोकिएन। डम्बर सम्झ्न्छन्, “डाक्टरले मलाई एक्लै बोलाएर अब अस्पताल ल्याउनुपर्दैन जीवनभर यस्तै हो भने। उता बिरामीलाई तीन महिनापछि अप्रेसन गर्नुपर्छ भनेका रहेछन्।”
अस्पतालबाट फर्केपछि देवी घरको साह्रो-गाह्रो काम गर्न नसक्ने भइन्। “पिसाब तल नखस्ने गरी थाङ्नामा बेरिएर र प्लाष्टिकको थैलो लगाएर समेत बसें”, देवी भन्छिन्, “तैपनि घरै गन्हाउने हुन्थ्यो, बाहिर कतै हिँड्न सकिन्नथ्यो।” १२ वर्ष यसरी बिताउँदा देवीलाई आफ्नै जीवन भार लाग्न थालेको थियो। यसैबीच गएको कात्तिकमा निरन्तर पिसाब बग्ने समस्याको नेपालमै उपचार हुनथालेको थाहा पाएर डम्बरले देवीलाई फेरि बीपी प्रतिष्ठान पुर्याए। मङ्सिरमा फ्रान्सको गाइनोकोलजिष्ट सान्स फ्रण्टियर भन्ने संस्थाबाट आएका डा. एजिजजेथ र डा. हुवर्डबाट श्रीमतीको शल्यक्रिया गराएका उनले तिनै डाक्टरबाट थाहा पाए― देवीलाई असुरक्षित प्रसवका कारण हुने अब्स्टे्रटिक फिस्टुला भएको रहेछ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ। फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्यो भने यस्तो समस्या आउँछ।”
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्याएको छ।
पाँचथर अमरपुर-६ की ४० वर्षीया सीतामाया तामाङले सात वर्ष पिसाबको आहालमै बिताइन्। ६ छोरी र चार छोरा जन्माइसकेकी सीता तीन छोरा खसेपछि फेरि गर्भवती भएकी थिइन्, तर पेटको बच्चा उल्टो बसेको रहेछ। लामो प्रसूति व्यथापछि अस्पताल पुर्याइएकी उनको बच्चा मृत अवस्थामा तानेर निकालियो। सीताले दुःखेसो पोखिन्, “छोरै थियो। ऊ त बचेन, आफू भने फोहोरमा डुबेर बाँच्नु पर्यो।” पहिला त्यति धेरै बच्चा जन्माउँदा पनि घाँस-दाउरादेखि घरको सारा काम भ्याउने सीताले फिस्टुला भएपछि घर वरिपरि मात्रै सीमित हुनुपर्यो। उनले रुँदै भनिन्, “घरमा दुर्गन्धले छिमेकी समेत आउँदैनथे!”
दोस्रो बच्चा जन्मिन डाक्टरले दिएको मितिभन्दा ढिलो भएपछि काठमाडौंस्थित 'म अस्पताल पुगेकी मोरङ उर्लाबारी-६ की फूलमाया राईको गत वर्ष अप्रेसन गरेर बच्चा त सकुशल जन्माइयो, तर सँगसँगै पिसाब नरोकिने समस्या शुरु भयो। शल्यक्रियाबाटै बच्चा जन्माएकी भोजपुर गोगनेकी पूर्णकुमारी राईलाई पहिलो पालामै यस्तो समस्या आइलागेको थियो। त्यसपछि घर जान पनि नसकेकी उनी एक वर्षदेखि इटहरीमा बसेकी छन्। “पिसाब बगेको बग्यै हुन्छ, कसरी घर जानु?” पूर्णकुमारीले भनिन्। ताप्लेजुङ इखाबुकी खड्गीमाया लिम्बूलाई १६ चैत २०६६ मा घरमै व्यथाले च्याप्यो। अस्पताल नजिकै थिएन, चार दिन व्यथा सहेर बसेकी र त्यसपछि हात हालेर मरेको बच्चा निकालिएकी उनको पिसाब बगेको बग्यै छ। पाँचथर गैरीगाउँकी ४५ वर्षीया मैनादेवी वयलकोटी पनि सात वर्ष यस्तै बिजोग सहेर बसिन्। भन्छिन्, “यस्तो त शत्रुलाई पनि नहोस्।”
धेरैले लाजले भन्दैनन्, लुकाउँछन्; तर वास्तविकता यही हो― नेपालका गाउँ-गाउँमा अब्स्ट्रेटिक फिस्टुला पीडित हजारौं महिला पिसाबको आहालमा डुबेर बसेका छन्। विकसित पश्चिमा मुलुकहरूमा एक शताब्दीअघि नै निर्मूल भइसकेको यस समस्याबाट अफ्रिका, अरब र दक्षिण एसियाली मुलुकका महिलाहरू पीडित छन्। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार विश्वमा हाल २० लाख महिला अब्स्ट्रेटिक फिस्टुला पीडित छन् भने हरेक वर्ष ५० हजारदेखि १ लाख पीडित हुन्छन्, तर यसको विश्वव्यापी उपचार क्षमता प्रति वर्ष ६५०० मात्रै छ।
गर्भावस्था र प्रसवकालमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने गरिब मुलुकका महिलाहरूका लागि ठूलै समस्या भएको यो रोग नेपालमा पनि नजानिँदो गरी लुकेर बसेको छ। चिकित्सकहरू आफूकहाँ आउने बिरामीहरूको चापका आधारमा हरेक वर्ष दुई-तीन हजार प्रभावित भइरहेको हुनसक्ने अनुमान गर्छन्। व्यवस्थित तथ्याङ्क समेत नराखेको सरकारले प्रसवजन्य फिस्टुलालाई प्राथमिकतामा राखेको छैन। फिस्टुलाबारे सचेतनाका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिस्टुला विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी भन्छन्, “फिस्टुलालाई सुरक्षित मातृत्वको समस्याकै रूपमा लिएर रोकथाम र उपचारका उपायहरू अपनाउनु पर्छ। राज्यले मातृस्वास्थ्य सम्बन्धी शिक्षामा ध्यान दिँदै सचेतना फैलाउने नीति मात्रै लिए पनि धेरै हदसम्म समस्याको रोकथाम र न्यूनीकरण हुन्छ।”
नेपालमा पाटन अस्पताल र बीपी प्रतिष्ठानमा मात्र उपलब्ध जटिल शल्यक्रियाबाट गर्नुपर्ने फिस्टुलाको उपचार हालै विदेशी चिकित्सकहरूले सुर्खेतमा पनि शुरु गरेका छन्। पाटनमा डा. कुन्दु याङ्जोम र बीपी प्रतिष्ठानमा डा. धु्रव उपे्रती र मोहनचन्द्र रेग्मीले फिस्टुलाको शल्यक्रिया गरिरहेका छन्। डाक्टरहरूका अनुसार फिस्टुलाको अप्रेसन गर्न कम्तीमा २१ दिन अस्पताल बस्नुपर्छ र रु.५० हजार खर्च लाग्छ, जुन धेरै नेपालीको पहुँचमा छैन।
सन् १९९३ मा नाइजेरियामा भएको एक अध्ययनले फिस्टुला पीडितमध्ये ५५ प्रतिशत १९ वर्षमुनिका महिलाहरू र त्यसको ९४ प्रतिशत घरमै बच्चा जन्माउनेहरू भएका देखाएको थियो। नेपालमा ठ्याक्कै त्यस्तो अध्ययन भएको त छैन, तर अहिलेसम्मको अनुभवका आधारमा कम उमेरमा विवाह र बच्चाको जन्म हुनु, गर्भवती अवस्थामा पौष्टिक तत्वको कमी हुनु, नियमित स्वास्थ्य परीक्षण नगराउनु, व्यथा लागेको लामो समयसम्म अस्पताल नपुग्नु, बच्चाहरूको जन्मान्तर कम हुनु, असुरक्षित तवरले प्रसूति वा गर्भपतन गराउनु यसका मुख्य कारण देखिएका छन्।
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।
Fistula Free Nepal 19025240200255, State Bank of India Nepal, Dharan.
SWIFT CODE: NSBINPKA